ओली सरकार देशलाई अध्यारोतर्फ धकेल्न उद्यतःप्रचण्ड

हेटौडा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार देशलाई अँध्यारोतर्फ धकेल्लन उद्यत रहेको आरोप लगाएका छन् ।

शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै ओली सरकारलाई उज्यालो मन नपरेको टिप्पणी गर्दै देशलाई अँध्यारोमा लैजाने काम गरिहेको बताए ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई देश लोडसेडिङ मुक्त भएको पनि पटक्कै मन नपरेको बताएका छन् । देश चरम लोडसेडिङमा पुगेका बेला आफूले लोडसेडिङ मुक्त गर्नका लागि ऊर्जा मन्त्रीमा जनार्दन शर्मा र विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियुक्त गरेर अहिलेको अवस्थामा ल्याएको अध्यक्ष प्रचण्डले उल्लेख छन्।

उनले भने–‘देशमा लोडसेडिङ नभएको यो सरकारलाई मन परेको छैन । उनीहरू दलाल पुँजीपतिलाई विद्युत् महसुल तिर्न नपर्ने बनाउनका लागि र गरिब जनतालाई मात्र तिर्न बाध्य पार्न कुलमानलाई निकाल्न खोजेको निकै ठूूलो चालबाजी तपाईँहरूले थाहा पाइसक्नुभएको छ । धेरै कुरा भनिराख्न आवश्यक नै छैन । एउटा प्रधानमन्त्रीले देशलाई अँध्यारोबाट उज्यालोतिर लग्यो, अर्को प्रधानमन्त्रीलाई त्यो सह्य भएन, त्यस कारण उज्यालोबाट अँध्यारोतर्फ लान उद्यत छ ।’

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला सरकारी जग्गा जालझेल गर्ने, आफ्नो नाममा लैजाने भूमाफियालाई गिरफ्तार गरेर कारबाहीका लागि हिरासत पुर्‍याएको तर अर्कोतिर तिनै व्यक्तिबाट अहिलेको प्रधानमन्त्रीले दान लिएर खुला रूपमा भ्रष्टाचारलाई संस्थागत गर्न खोजेको उल्लेख गरे ।

उनले आफू पहिलो पटक प्रधानमन्त्री भएका देशलाई रणनीतिक ढङ्गले एकताबद्ध गर्नुपर्छ भनेर मध्यपहाडी पुष्पलाल लोकमार्ग आफूले प्रस्ताव गरेको र त्यो अहिले पूर्ण हुने अवस्थामा रहेको बताए । त्यसले पहाडमा पूर्वदेखि पश्चिमलाई जोड्न लागेको उल्लेख गर्दै उत्तर दक्षिण जोड्ने मार्गहरू निर्माणको काममा पनि सफल भएको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *