कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउनु नपर्ने अदालतको आदेश

सिन्धुली,कमलामाई नगरपालिकाले गरेको सरकारी विद्यालयमा पढाउनु पर्ने नियम अव लागू नहुने भएको छ । सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने कमलामाई नगरपालिकाको निर्णयमा ठेस लागेको छ ।

अव यो निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनमा परेको रिट माथिको आज भएको सुनुवाईमा रिट जारी हुने फैसला भएको हो । यो सँगै नगरपालिकाको आदेश कार्यान्वयन नहुने अधिबक्ता लोकहरि आचार्यले बताउनु भयो ।

नगरपालिकाले शैक्षिक सत्र २०८१ देखि अनिवार्य रुपमा सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा नपढाए कार्वाही हुने भन्दै सूचना जारी गरेको थियो ।

आज भएको रिट माथिको अन्तिम सुनुवाईमा निवेदकका तर्फबाट अधिबक्ता लोकहरि आचार्य र अधिबक्ता लिलानाथ घिमिरेले बहस गर्नु भएको थियो । शिक्षक कर्मचारी र अन्य नागरिक विच नगरपालिकाले भेदभाव गरेको र बालबालिकाको पढन पाउने अधिकार हनन हुनुको साथै अभिभावकको आफ्ना छोराछोरीलाई कस्तो शिक्षा उपलब्ध गराउने भन्ने अभिभावकीय हक समेत नगरपालिकाको निर्णयले संकुचन गरेको अधिबक्ता लोकहरि आचार्यले बताउनु भयो ।

उच्च अदालतका माननीय न्यायधिश लेखनाथ पौडेल र हेमन्त रावलको संयुक्त इजालसले नगरपालिकाको निर्णय विरुद्ध परेको रिट जारी हुने फैसला भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *