सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका ३ को गणेशस्थान मन्दिर नजिकै फाँटमा साके सम्वत् १७११ अर्थात् सम्वत् १८४६ मा निर्माण गरिएको धर्मशाला पौवाको शिलालेख प्राप्त भएको छ । रातमाटा बजारका व्यवसायी तथा समाजसेवी विश्वनाथ सूर्यवंशीले २०८० भदौ ६ गते बिहान सो शिलालेख पर्खालमा राखिएको अवस्थामा फेला पार्नुभएको हो ।
पूर्व पश्चिम हिँड्ने मूलबाटोबाट गणेशस्थान मन्दिर तर्फ जाने बाटोको मुखैमा कुनै समय धर्मशाला थियो । झिँगटीको छाना र ईटको तिन तर्फ पर्खाल भएको सो धर्मशाला (पाटी) अहिले अस्तित्वमा छैन । स्थानीय सम्पदाप्रेमी विश्वनाथ सूर्यवंशीका अनुसार सो धर्मशाला भत्कन थालेपछि पञ्चायत भवन बनाउन भनी झाँगाझोली खहरेमा काठपात लगिएको थियो ।
त्यो तिथिमिति उहाँलाई पनि थाहा भएन । तर पछिसम्म सो स्थानमा चौर रहेकोमा अहिले अतिक्रमण गरी घर बनाइएको छ । सोही घरधनीको करासामा सिमेन्टका ब्लकसँग राखिएको अवस्थामा सो शीलालेख प्राप्त भएको हो । सो धर्मशालाको खोजी र संरक्षणमा स्थानीय सम्पदाप्रेमी, वडा र गाउँपालिकाको साथै पुरातत्व विभागको गम्भीर ध्यानआकृष्ट गराउन चाहन्छु । यस सम्बन्धमा खोज जारी छ ।
पूर्वी पहाड र तराईबाट नेपाल काठमाडौंलाई त्यो समय नेपाल भनिन्थ्यो आउजाउ गर्ने मूलबाटो थियो, सुनकोशी गढतिर । हो समय बटुवालाई खान र बास बस्न होटल, लज थिएनन् । त्यसैले बटुवालाई पानी खुवाउन मूलबाटोमा पानी पौवा, कुवा र धारा राख्ने चलन थियो । थकाइ मार्न बाटामा चौतारी राखिन्थ्यो । बास बस्नका लागि पाटी र सत्तल बनाइन्थे । यस्ता सत्तल, पाटी, पौवा र चौतारा गढतिरमा प्रसस्त थिए । त्यसमध्ये धेरैजसो लोप भए । केहिको राम्रो संरक्षण पनि भएको छ । केहिको संरक्षण प्रयास थालिएको छ ।