काठमाडौँ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई कुट्ने वडाध्यक्षलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
केही दिन अघि गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेल माथि २ नम्बर वडाका वडा अध्यक्ष दौलत कार्कीले हातपात एवं अभद्र व्यवहार गरेको घटनालाई लिएर आवश्यक कारवाहीका लागि पत्राचार भएको हो ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरूमाथि एक पछि अर्को आक्रमण भई रहँदा कर्मचारीहरूमा भय र त्रास पैदा भई सुशासन र सेवा प्रवाहमासमेत नकारात्मक असर परेको तथा कर्मचारीहरूमा आत्मसम्मान र आत्मविश्वासमा कमी आएको भन्दै घटनामा संलग्न व्यक्ति, समूह तथा पक्षलाई कानुन बमोजिम कारबाही गर्न सामान्यले गृहलाई भनेको हो ।
‘राष्ट्र सेवक कर्मचारीहरू उपर देखिएको सुरक्षा संवेदनशीलतालाई मनन गरी देशभरका सबै कर्मचारीहरूले आत्म सम्मा, आत्म विश्वास एवं उच्च मनोबलका साथ सेवा प्रवाह गर्दै मुलुकको दिगो शान्ति, सुशासन, विकास र समृद्धि कायम गर्न आवश्यक सुरक्षा प्रत्याभूति तथा शान्तिपूर्ण कार्य वातावरण निर्माण गरिदिन हुन मन्त्रालयको २०८०र०३र२० को निर्णयानुशार अनुरोध छ’ मन्त्रालयले भनेको छ ।
यही असार १४ गते सिन्धुलीको गोलचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलमाथि वडा अध्यक्ष कार्कीले हातपात एवं अभद्र व्यवहार तथा अपमानजनक शब्दहरू प्रयोग गरेको घटनालाई लिएर जिल्लास्थित स्थानीय तहमा कार्यरत आठ वटै प्रमुख प्रशासकीय अधिकृतहरूले कारवाहीको माग गर्दै विज्ञप्ति जारी गरेका थिए ।
घटनालाई राजनीतिक रङ्ग दिई अतिरञ्जित बनाई विभिन्न बहानामा दोषीलाई उम्काउने प्रयास भए अन्य विकल्पहरू चरणबद्ध रूपमा अवलम्बन गर्न बाध्य हुनेसमेत उनीहरूले बताएका थिए ।