टिविएम मेसिन पहिरोवाट निकाल्न होमहोमादी सहित विश्वकर्मा पुजा

सिन्धुली,लामो समयदेखि टिविएम मेसिन पहिरोमा फसेपछि मंगलबार सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यालयले कमलामाई नगरपालिका २ कुसुमटारस्थित आयोजनास्थलमा होमहोमादी क्षमा पुजा सहित विश्वकर्माको पुजा गरेको छ ।

राष्ट्रिय गौरबको आयोजना अन्तर्गत सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माणको काम यतिबेला अवरुद्ध अवस्थामा छ । सुख्खा पहिरो खसेपछि सुनकोसी मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने काम डेढ महिनादेखि रोकिएको छ।

सुरुङको दायाँबायाँ दुवैतर्फबाट पाउडर जस्तो माटो झर्ने र पानी मिसिंदा लेदो हुने भएपछि सो लेदोले सुरुङ खन्ने टनेल बोरिङ मेशिन थिचिएर झन्डै डेढ महिनादेखि काम अवरुद्ध भएको सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना सिन्धुलीले जनाएको छ ।

सुनकोसीको पानी मरिणमा खसाल्न १३ दशमलव तीन किलोमिटर लम्वाइ रहेको सुरुङको हालसम्म दश हजार पाँच सय ४४ मिटर सुरुङ निर्माण भएको छ । कमलामाई नगरपालिका २ कुसुमटारबाट निर्माण सुरु भएको सुरुङको दुइहजार पाँचसय ४१ मिटर मात्र काम बाकी रहँदा गत पौष ९ गतेबाट मेसिन पहिरोमा फसेपछि निर्माण कार्य अवरुद्ध भएको हो ।
सुनकोसी गाउँपालिकाको ट्याङट्याङ खोलामुनि सुरुङ खन्ने मेसिन टिबीएम फसेपछि निकाल्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विज्ञहरुबाट काम भइरहेको र बाइपास टनेल बनाई मेशिनलाई बचाउने काम भएको आयोजना निर्देशक मित्र बरालले जानकारी दिए।

आयोजना कार्यालयका अनुसार टिबीएम निर्माण अमेरिकी कम्पनीका प्राविधिक, परामर्शदाताका विज्ञहरु, निर्माण व्यवसायी चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीका प्राविधिक लगायतले स्ट्रोक भएको मेशिनलाई निकालेर काम सुचारु गर्ने तयारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *