काठमाडौं,सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका समिर परियार छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोले जानकारी दिएको छ । व्युरोका अनुसार परियारमाथि अनुसन्धान भइरहेको छ ।
दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो । भुजेललाई पोखराबाट कामको प्रलोभनमा भारतमा पुर्याई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको बताइन्छ ।
पोखरामा भेटिएका एकजना भारतीय नागरिकले उनलाई होटलमा वेटरको काम लगाइदिने भनेर भारत लगेका थिए । त्यसको करिब १० दिनपछि उनी काठमाडौंको कलंकीमा आइपुगे । भारतबाट आउने गाडीमा काठमाडौं आइपुगेका उनले कम्मरमा अनौठो किमिसको दुखाइ महसुस गरे । घर फर्किएपछि उनले परिवारका सदस्यलाई आफूलाई दुखाइ भइरहेकोबारे सुनाए । साथमा देब्रेतर्फ लगाइएको टाँकाबारे सुनाएका थिए । अनि अस्पतालमा जाँच गराउँदा उनको एउटा मिर्गौला नभएको खुलेको थियो ।
