रामेछाप, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोरम्बाको पहिचान वीरता र बलिदानी भएको बताउनु भएको छ । सो कुरा उहाँले रामेछापको दोरम्बाको डाँडाकटेरीमा विहिबार आयोजना गरिएको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसका अबसरमा बताउनु भएको हो ।
श्रद्धान्जली सभालाई सम्बोधन गर्ने विहिबार दीउँसो दोरम्बा आईपुग्नु भएका प्रधानमन्त्री दाहालले शहिदहरुले देखाएको निश्वार्थ बलिदानीकै कारण दोरम्बा देशभित्र मात्रै नभएर संसारभरले नै चिन्ने ठाउँको रुपमा परिभाषित भएको पनि बताउनुभयो ।अरुले मात्र नभएर संयुक्त राष्ट्रसंघले समेत दोरम्बा हत्याकाण्डलाई एउटा भयानक अपराधिक हत्या काण्डको रुपमा लिएको उहाँले बताउनुभयो ।
अर्को प्रसंगमा प्रधानमन्त्री दाहालले अहिले आफुले गठबन्धन सरकारको नेतृत्व गरि रहेको र सरकार शहिदले देखाएको मुल मार्गलाई आधार मान्दै शुसासन र भ्रष्टाचारको अन्त्यका लागि पनि उत्तिकै जिम्मेवार रहेको पनि बताउनु भयो ।
तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जना सेनाको आक्रमणबाट मारिएका थिए । सो घटनापछि माओवादीले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेको थियो ।