काठमाडौं,सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख (हाल निलम्बित) भरत कुमार थापालगायत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नगरप्रमुख थापासहित नगर उपप्रमुख लीला कुमारी मुक्तान,तत्कालीन प्रशासकीय अधिकृत विमल कुमार पोखरेल,योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल,तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी पनि सो मुद्दामा मुछिएका छन्।
यसअघि चैत्र २८ गते अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दावी गर्दै थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
बागमती नगरपालिका ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम ९भरत ताल० निर्माणका क्रममा उत्खनन् भएको ढुंगा,गिटी,बालुवालगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमिता गरेको उजुरीका आधारमा अनुसन्धान हुँदा उनीहरूले नगर कार्यपालिकाबाट माछा पोखरीको डिटेल्ड प्रोजेक्ट रिपोर्ट तयार गरेको देखाइ पोखरीको गुरूयोजना स्वीकृतसमेत नगरीरनगराइ ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
उनीहरूविरुद्ध ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ बिगो बमोजिम जरिवाना माग गरिएको छ।
आपसी मिलेमतोमा बदनियत राखी संघीय सरकारअन्तर्गतको सागरनाथ वन विकास परियोजना अन्तरगतको वन क्षेत्रमा सागरनाथ वन विकास परियोजना र संघीय सरकारको स्वीकृत बिना अनाधिकृत रुपमा माछा पोखरी निर्माणको लागि भनी ढुंगा,गिटी,बालुवा उत्खनन्का लागि प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत भएको गलत लिखित तयार गराएको उनीहरूमाथि आरोप छ। अन्नपुर्ण पोष्ट