मकवानपुर,बागमती प्रदेश सभामा संसदीय विशेष समिति गठन गरिएको छ । बिहीबार बसेको प्रदेश सभा बैठकले “बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति” गठन गरेको हो । समितिको संयोजकमा नेपाली काँग्रेसका सचेतक गोविन्द लक्साल रहेका छन् ।
बैठकमा नेकपा माओवादीका मुख्य सचेतक रत्न ढकालले पेश गर्नुभएको समिति गठनको प्रस्ताव सर्वसम्मतले पारित भएको हो । समितिको सदस्यमा इन्द्रप्रसाद गोतामे, उद्धव थापा, गिरबहादुर तामाङ, डा.दिनेशचन्द्र देवकोटा, प्रभात तामाङ, बसन्तप्रसाद मानन्धर, रत्नप्रसाद ढकाल, रमा आले मगर, मधुसुदन पौडेल र शैलेन्द्रमान बज्राचार्य छन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला तथा योजनामन्त्रीले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रमका सम्बन्धमा सभा समक्ष गर्नुभएको प्रतिबद्धतालाई संविधान ऐन, कानून अनुसार कार्यान्वयनका लागि विशेष समिति गठन प्रस्ताव गरिएको मुख्य सचेतक ढकालले वताए ।
विशेष समितिमा नेपाल मजदुर किसान पार्टीबाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले सहभागिता जनाएका छन् । समितिलाई फागुन २९ गते बस्ने प्रदेश सभा बैठकमा प्रतिवेदन बुझाउन समयसीमा प्रदान गरिएको छ ।