सिन्धुली,घ्याङलेख गाउँपालिका ४ आहालेमा भएको घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गर्दै जाँदा रुखबाट लडी घाइते भनिएका व्यक्तिलाई गोली लागेको तथ्य फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार बुधवार बिहान ११ बजेतिर आहालेका ४६ वर्षीय युग बहादुर स्याङतान घर नजिकैको जङ्गलमा घाँस काट्न गएका थिए । युगबहादुर घाँस काट्ने क्रममा रुखबाट लडी गम्भीर घाइते भई के।एम।सी।अस्पताल सिनामंगल काठमाण्डौमा लगी उपचार भइरहेको भन्ने सूचना प्रहरीले जनाकारी पाएको यियो । सोही सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा युगबहादुरको तिघ्रामा गोलीको छर्रा भेटिएको र घाइतेको उपचारको क्रममा बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिनुभयो ।
प्रहरीले सूचना पाएपछि अनुसन्धान सुरु गर्न इलाका प्रहरी कार्यालय बस्तीपुरबाट प्रहरी निरीक्षक टिकाराज बरालको कमान्डमा खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा दुई जना पक्राउ गरिएको छ ।
घाइतेको उपचारमा संलग्न चिकित्सकद्वारा घाइतेको तिघ्रामा गोलीको छर्रा भेटिएको भन्ने जानकारी प्राप्त भएको हुँदा उक्त घटनाको सम्बन्धमा थप अनुसन्धानको क्रममा दुई जनालाई प्रहरी वृत्त गौशाला ,काठमाण्डौसंग समन्वय गरी पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा घ्याङलेख गाउँपालिका ४ का २५ वर्षीय बल बहादुर मोक्तान र सोही ठेगाना भएका ४१ वर्षीय लेख बहादुर गोले रहनु भएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्तिहरू लगायत अन्य व्यक्तिहरूले घरेलु बन्दुक लिई सिकार खेल्न जङ्गलतर्फ गएकोमा निज घाइते युग बहादुर स्याङतानलाई बन्दुकको छर्रा लागि घाइते भएकोमा उपचारको लागी काठमाडौँ लगेको बताएका छन् । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।