सिन्धुली,जिल्ला समन्वय समिती सिन्धुलीको प्रमुख कारसाङ लामा र तिनपाटन गाँउपालीका अध्यक्ष कर्ण थापामागरले शुक्रवार साँझ प्रयास होटलमा एक भव्य कार्यक्रमको आयोजना गरी मित लगाएका छन् । मित लगाउने कार्यक्रममा नेपाली काँग्रेसको संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे,जिल्लाका गाँउपालीका अध्यक्ष,उपाध्यक्ष,प्रमुख जिल्ला अधिकारी,माओवादी केन्द्र र नेपाली काँग्रेस पाटीका नेताहरु,शुभचिन्तक तथा परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो ।
दुई वर्ष अगाडी जिल्ला समन्वय समिती सिन्धुलीको प्रमुख पदका उम्मेदवार कारसाङ लामाले मतदाता तिनपाटन गाँउपालीका अध्यक्ष कर्ण थापामगरसँग भोट माग्ने क्रममा मित लगाउने प्रस्ताव गरेका थिए । जिल्ला समन्वय समितीको निर्वाचन २०७९ साल असार २९ गते थियो । असार २८ गते साँझ सिन्धुली इन होटलको एक कार्यक्रममा प्रमुख पदका उम्मेदवार लामाले आफ्ना मतदाता अध्यक्ष थापामगरसँग मित लगाउने प्रस्ताव राखेका थिए।
अध्यक्ष थापामगरले लामाको प्रस्ताव स्वीकार गरे । त्यो दिन टोपी साटासाट मात्रै भयो । भोट माग्दा टोपी साटा साट गरी मित लगाउने वैना गरिएको थियो । टोपी साँटेर वैना मारिएको मित लगाउने कार्यक्रमले २ वर्ष पछि पुर्णता पाएको छ ।
भोली पल्ट जिल्ला समन्वय समितिको निर्वाचन भयो लामा प्रमुख पदमा निर्वाचित भए । जिल्ला समन्वय समितीको निर्वाचनमा माओवादी केन्द र नेपाली काँग्रेस विच चुनावी गठवन्धन भएको थियो । जिल्ला समन्वय समितीको प्रमुख पदका उम्मेदवार लामा माओवादी केन्द्रका तर्फवाट उम्मेदवार थिए भने कर्ण थापामागर तिनपाटन गाँउपालीका अध्यक्षमा नेपाली काँग्रेसवाट निर्वाचित भएका थिए ।
सिन्धुली जिल्लाको ९ स्थानिय तहका अध्यक्ष र उपाध्यक्षले जिल्ला समन्वय समितीका प्रमुख र उप प्रमुख पदका उम्मेदवारलाई मतदान गर्छन । माओवादी केन्द्रसँग ७,नेपाली काँग्रेसँग ७ तथा नेकपा एमालेसँग ४ मत रहेको थियो । प्रमुखमा गठवन्धनको १४ मत प्राप्त गरि जिल्ला समन्वय समितीको प्रमुखमा लामा विजयी भएका थिए ।