कपिलाकोट,सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ६ लाई “उज्यालो वडा” घोषणा गरिएको छ । वडाभित्रका सबै घरधुरीमा राष्ट्रिय प्रशारण लाइनमार्फत बिजुली पुगेपछि एक कार्यक्रमको आयोजनागरी सिन्धुलीका प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल )राजन) ले उज्यालो वडा घोषणा गर्नुभएको हो ।
उज्यालो वडा घोषणा कार्यक्रममा सम्बोधन गर्दै सांसद दाहालले विद्युत् विस्तारले गाउँका नागरिकको दैनिकी सहज हुने मात्र नभई उद्योग–व्यवसाय सञ्चालनमा समेत टेवा पुग्ने बताउनुभयो । उहाँले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए पछि पछिल्लो समय झ्याप्प झ्याप्प बिजुली जानेक्रम बढेकाले नागरिकलाई फेरी लोड सेडिङ हुन्छ की भन्ने आशंका बढाएको बताउनुभयो ।
त्यसैगरी मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले उज्यालो गाउँपालिका घोषणा गर्ने लक्ष्यअनुसार बाँकी घरधुरीमा पनि बिजुली विस्तारलाई तीव्रता दिइरहेको जानकारी दिनुभयो ।
वडा नम्बर ६ का वडाअध्यक्ष हर्कविर माझीको अध्यक्षतामा भएको कार्यक्रममा मरिण गाउँपालिकाका उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका प्रमुख शिशिर लम्साल, नेकपा९माओवादी केन्द० मरिण गाउँकमिटिका अध्यक्ष काजीमान थिङ, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विभिन्न राजनितिक दलका नेता तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।
यसअघि वडा नम्बर ५ लाई पनि उज्यालो वडा घोषणा गरिएको थियो । यससँगै मरिण गाउँपालिकाका दुई वडामा सबै घरधुरीमा बिजुली विस्तार भइसकेको छ ।
