सिन्धुली,मरिण गाउँपालिकाको अभिभावक विहिन बालबालिकालाई भत्ता वितरण गरिएको छ । आमा बाबुको मृत्यु भएको तथा वेपत्ता भएका पालिका भित्रका ६० जना बालबालिकाहरुलाई गाँउपालीकाले भत्ता वितरण गरेको छ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा मरिण गाउँपालिकाको समन्वयमा ‘बालबालिकामा लगानी सुनिश्चीत भविष्यको थालनी’ भन्ने नारा सहित आमा बाबु विहिन बालबालिका संरक्षण कार्यक्रम अन्र्तगत भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिए ।
५ जना आमा बावु दुबै नभएका बालबालिका र ५५ जना आमा बाबु वेपक्ता भएका र अर्को विवाह गरेर अलग भएका अभिभावकका बालबालिकालाई भत्ता वितरण गरिएको सो गाउँपालिकाको महिला विकास शाखाकाले जानकारी दिएको छ । आमा बावु दुबैको मृत्यु बालबालिकालाई मासिक २ हजारको दरले बार्षिक २४ हजार प्रदान गरिएको छ । आमा र बावु मध्ये एक नभएको तथा वेपक्ता भएका अभिभावकका बालबालिकालाई बार्षिक ८ हजार ५ सय ७१ रुपैयाँ भत्ता वितरण गरिएको छ ।
बागमति प्रदेश सामाजिक विकास मन्त्रालयले मरिण गाउँपालिकालाई बार्षिँक ६ लाख रुपैयाँ आमा बावु विहिन बालबालिका संरक्षणको लागि बजेट विनियोजन गर्ने गरेको छ । आमाबाबु विहिन बालबालिकाको संरक्षण कार्यक्रम कार्यान्वयनको लागि आमाबाबु विहिन १८ बर्ष उमेर पूरा नगरेका बालबालिका,निजको संरक्षक त्यो पनि नभए स्याहार सुसार गर्ने व्यक्तिले गाउँपालिकाले तोकेको आवेदन ढाँचा आवश्यक कागजातहरु सहित मरिण गाउँपालिका तथा सम्वन्धित वडा कार्यालयमा निवेदन दिन सार्वजनिक सुचना जारी गरेको थियो ।