मरिण गाउँपालिकाको दोस्रो गाँउसभाको चौथो हिउँदे अभिवेशन सम्पन्न

सिन्धुली,मरिण गाउँपालिकाको दोस्रो गाँउसभाको चौथो हिउँदे अभिवेशन शनिवार सम्पन्न भएको छ । चौथो हिउँदे अधिवेशनले चालु आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजित बजेट संशोधन गरेको छ । गाउँसभा तथा चौथो अधिवेशनले पालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी विनियोजन गरिएको बजेटलाई संशोधन सहित पास भएको छ ।

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फको बजेट भने यथावत् नै राखिएको छ । संशोधित बजेटअनुसार चालु खर्चतर्फ १९ करोड ३६ लाख ९४ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ १० करोड ८७ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

यसैगरी पालिकाको आन्तरिक स्रोतबाट विनियोजित बजेट ३० करोड २४ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । संशोधनपछि आन्तरिक स्रोतको बजेट तीन करोड २० लाख रुपैयाँले बढेको छ । यसअघि चालु आवका लागि विनियोजित बजेट २७ करोड चार लाख रुपैयाँ रहेको थियो ।

आन्तरिक स्रोततर्फको बजेट संशोधन गरेर बढाएसँगै पालिकाको कूल बजेट ५९ करोड २८ लाख रुपैयाँ पुगेको छ । यसअघि बजेट ५६ करोड रुपैयाँ रहेको थियो । चालु बजेटमा संघीय सरकारबाट सशर्त अनुदानमा प्राप्त २४ करोड ७४ लाख ८२ हजार रहेको छ ।

यस्तै पुँजीगत तीन करोड र चालुतर्फ २१ करोड ७४ लाख ८२ हजार रुपैयाँ रहेको छ । यसैगरी प्रदेशबाट प्राप्त हुने सशर्त अनुदानको बजेट चार करोड २८ लाख ५० हजार रुपैयाँ रहेको छ । जसमा पुँजीगत तीन करोड २५ लाख र चालु एक करोड तीन लाख ५० हजार रुपैयाँ रहेको छ ।

संशोधित बजेट कुन क्षेत्रमा कति गाउँपालिकाको संशोधित बजेटमा क्षेत्रगत आधारमा सबैभन्दा बढी सामाजिक विकास शीर्षकमा १० करोड २४ लाख ५९ हजार रुपैयाँ रहेको छ । यसअन्तर्गत शिक्षामा चार करोड ९९ लाख ५० हजार, स्वास्थ्यमा एक करोड ३७ लाख ४० हजार, खानेपानी तथा सरसफाइमा एक करोड ३१ लाख ६७ हजार, भाषा तथा संस्कृतिमा ३३ लाख २० हजार, सामाजिक सुरक्षा तथा संरक्षणमा १० लाख लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा ८० लाख ८० हजार र युवा तथा खेलकुदमा एक करोड ३२ लाख रुपैयाँ रहेको छ ।

सामाजिक विकासपछि कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि नौ करोड आठ लाख ८२ हजार ७०० रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकास शीर्षकअन्तर्गगत पाँच करोड ६६ लाख ३२ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा तीन करोड १२ लाख १६ हजार र आर्थिक विकास शीर्षकमा दुई करोड १२ लाख ९७ हजार रुपैयाँ छुट्याइएको संशोधित विवरणमा उल्लेख छ ।

गाउँपालिकाको कार्यालयमा सम्पन्न दोस्रो गाउँसभा तथा चौथो अधिवेशनमा प्रस्तुत बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पारित भएको छ । यस्तै मरिण गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धीको विधेयक र गाउँपालिकाको सार्वजनिक निजी साझेदारी विधेयक पनि गाउँसभाले पारित गर्न सभाका अध्यक्ष विमर्ष भोक्तानले निणयार्थ पेश गरेका थिए । साथै विभिन्न विषयगत समिति, विषयगत शाखाका प्रतिवेदन, हालसम्म भएका खर्च तथा प्रगति, लेखापरीक्षण प्रतिवेदनलगायतका विविध विषयहरु पनि पारित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *