काठमाडौं,नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकले २२ केन्द्रीय सदस्य थप गरेको छ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधानअनुसार ३५ प्रतिशत महिला पुर्याउन २२ जना सदस्य थप गरेको हो। थपिएका सदस्यहरुको नाम केन्द्रीय समिति बैठकले अनुमोदन गरेको माओवादी प्रवक्ता कृष्णवहादुर महराले जानकारी दिए।
यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए। अहिले केन्द्रीय समितिको आकार केही ठूलो देखिएपछि विधान सम्मेलनपछि केन्द्रीय समितिको आकार सानो बनाइने प्रवक्ता महराले बताए।
शुक्रबार अध्यक्ष प्रचण्डमाथिको प्रतिवेदनमाथि ६८ जनाले धारणा राखेको र जनतामा जानुपर्नेमा जोड दिएको प्रवक्ता महराले जानकारी दिए। उनले बोलेअनुसार काम गर्नुपर्ने र पार्टी निर्माणका साथै विस्तामा सदस्यहरुले जोड दिएको बताए।
त्यस्तै समाज विचार राख्नेसँग एकता र ध्रुवीकरण गर्नुपर्नेमा पनि सदस्यहरूको भनाइ रहेको प्रवक्ता महराले बताए। माओवादी बैठक शनिबार बिहान ११ बजे पुन बस्ने र धारणा राख्ने क्रम जारी रहने महराले जानकारी दिए।