काठमाडौं,नेकपा माओवादी केन्द्रले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई समेट्न ‘रिटर्नी सेन्टर नेपाल’ नामको छुट्टै भातृ संगठन बनाएको छ ।
देवेन्द्र सम्बाहाम्फेको संयोजकत्वमा ५१ सदस्यीय ‘रिटर्नी सेन्टर नेपाल’ राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको छ । भेला सम्पन्न गर्न विभिन्न कमिटीहरु पनि गठन गरिएको छ । भिम लकान्द्रीको नेतृत्वमा विधान मस्यौदा समिति, निमेष वलीको संयोजकत्वमा डिजिटल तथा प्रचार प्रसार समिति, हेमन्त पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।
जेठ २६ गते राष्ट्रिय भेला गर्ने तयारी भइरहेको प्रचार प्रसार समिति संयोजक वलीले जानकारी दिए । उनका अनुसार त्यो भेलाले तदर्थ समिति गठन गर्ने र ६ महिनाभित्र राष्ट्रिय सम्मेलन गर्ने छ ।
गत बिहीबार र शुक्रबार बसेको माओवादी पदाधिकारी बैठकले ‘रिटर्नी सेन्टर नेपाल’ नामको भातृ संगठन गठन गर्ने निर्णय गर्दै त्यसबारे जानकारी दिन तल्लो तहका कमिटीहरुलाई सर्कुलर गरिसकेको छ ।