काठमाडौं,नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगनठनले उपप्रधान एवम अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ । संगठनका अध्यक्ष अम्बादत्त भट्टको नेतृत्वमा आइतबार मन्त्रालयमा पुगेको टोलीले विभिन्न २२ बुदेँ माग सहित अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएको हो ।
संगठनले प्रत्येक दुई वर्षमा बढ्नुपर्ने कर्मचारीको तलब तथा भत्ता विगत तीन वर्षदेखि रोकिएको अवस्थाबाट राष्ट्रसेवकको जनजीविका कस्टकर र पिडादायी बन्दै गइरहेको भन्दै वस्तुगत परिस्थितिको मुल्याङ्कन गरेर राज्यकोषको थप स्रोत पहिचान गरी तीनै तहका कर्मचारीको न्यायिक तलब तथा सेवासुविधा वृद्धि गर्न माग गरेको छ ।
समान तह र श्रेणीमा कार्यरत राष्ट्रसेवक कर्मचारीको तलब लगायतका सेवा सुविधामा तहगत समानता तथा उपयुक्त अनुपात कायम गर्न सर्वोच्च अदालतमा चढाइएको पुनरावेदन निवेदन फिर्ता लिई पुनरावलोकन आयोगको सिफारिस बमोजिम सम्पुर्ण राष्ट्रसेवक कर्मचारीको तलब तथा सेवा सुविधा समायोजन गर्न माग गरेको छ ।
यस्तै सङ्घ, प्रदेश र स्थानीय तहको विभिन्न निकायमा कार्यरत अस्थाई, करार तथा ज्यालादारी कर्मचारीको तलब लगायतका सेवासुविधा वितरणमा आधारभुत मापदण्ड तय गरी सेवा सुनिश्चिता सहित योगदानमा आधारित सुरक्षा कोषमा अनिवार्य आवद्धता गर्ने आवश्यक व्यवस्था गर्न माग गरेको छ ।