चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् । चिउरीको बोटमा फूल खेल्न सुरु भएको छ ।
रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुगेका छन् । ‘तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ,’ उनले भने, ‘फागुन अन्तिमसम्म मौरी यही राखिन्छ ।’ उनले मौसमले साथ दियो भने दुई पटकसम्म मह काढ्ने बताए ।
चिउरीको मह नजम्ने भएका कारण उपभोक्तले धेरै खोज्ने गरेको किसान थापाले बताए । ‘विसं २०५६ देखि मौरी पाल्दै आएको हुँ,’ उनले भने, ‘प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ ।’ उनले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताए ।
चरन क्षेत्रमा पनि जंगली जनावरले दुःख दिने उनको अनुभव छ । मौसम अनुकूल भएमा एक वर्षमा चार पटकसम्म मह काढिने थापाले बताए । ‘मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ,’ उनले भने, ‘जिन्दगीको सबैभन्दा आनन्द यही हो ।’
चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जंगल छ । यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासंघका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले बताए ।
उनका अनुसार यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रुपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन् । जंगली फूल र विषादी नहुने भएकाले चिउरीमा मौरी चराइने गरिएको हो ।
चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरु देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने पूर्वअध्यक्ष पौडेल बताउँछन् । उनका अनुसार नेपालमा सेरेना र मेलीफेरा मौरीपालन हुने गरेको छ । व्यावसायिक रुपमा भने मेलिफेराको पालिन्छ । चितवन मौरीपालनको उर्वर भूमि हो जहाँ पाँच सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन् ।