धनकुटा,नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनलाई एजेण्डाविहीन भएको बताएका छन् । एमालेका केन्द्रीय अध्यक्ष केपी ओलीको विकल्पको रुपमा मात्र रहने दाउमा भण्डारीको राजनीतिक उपस्थिति रहने उनले दाबी गरेका छन् ।
माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव तथा कोशी प्रदेश इन्चार्जसमेत रहेका गजुरेलले आफ्नो पार्टीका लागि भण्डारीले राष्ट्रपति रहँदासमेत सकारात्मक भूमिका नराखेकोले उनको राजनीतिक सक्रियतालाई आफ्नो पार्टीले गौण रुपमा लिएको बताए ।
गजुरेलले धनकुटामा आयोजित पत्रकार भेटघाटमा उक्त कुरा बताएका हुन् । उनले राष्ट्रपति हुँदासमेत साझा हुन नसकेकी भण्डारीको राजनीतिक सक्रियतालाई सामान्य विषय रहेको बताए । पूर्व उपराष्ट्रपति नन्दकुमार पुनलाई माओवादीले सक्रिय राजनीतिमा स्थान दिएकोले भण्डारीको उपस्थितिलाई पनि सामान्य रुपमा हेरिएको उनले उल्लेख गरे ।
, नेता गजुरेलले आफ्नो पार्टी सरकारमा जाने कुनै योजनामा नरहेको बताएका छन् । ‘एमालेसँग सरकारको समीकरण हुनै सक्दैन,’ उनले भने, ‘निर्णायक कांग्रेस भए पनि हामी सरकारमा जाने योजनामा छैनौं ।’ उनले मिसन चौरासीमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् ।
उनले यसका लागि पार्टी रणनीतिक योजनामा जुटेको दाबी गरे । ‘आफ्ना कमजोरीलाई सच्याएर हामी आफ्नै खुट्टामा टेकेर अघि बढ्ने छौं,’ उनले भने, ‘पार्टीभित्रका गम्भीर त्रुटि कार्यशैली र वैचारिक विचलनलाई करेक्सन गरेर अघि बढ्दै छौं ।’
गजुरेलले समाजवादीका अध्यक्ष माधव नेपाल र वामपन्थी नेता वामदेव गौतमको एकतालाई ‘माया बैगुनी, नभइ नहुने’ भन्दै ठट्यौली प्रतिक्रिया दिएका छन् । उनले वामदेवलाई कुनै पनि पार्टीको प्रमुख बनाए उनले पार्टी नै सिध्याउने दाबी गरे ।
वामदेव नभइ तरकारीमा नुन नभएको जस्तो भए पनि उनको उतावचढाव खतरनाक रहने उनको टिप्पणी थियो । माधव नेपाल माथि प्रश्न उठिरहेको बेला पार्टीलाई उठाउन वामदेवको उपस्थितले राहत दिनसक्ने उनको भनाइ छ ।
