काठमाडौँ,जिल्ला प्रहरी कार्यालय सिन्धुलीको कमाण्ड एसपी अर्जुनप्रसाद तिमिल्सिनालाई दिने निर्णय गरिएको छ । सिन्धुलीमा कार्यरत प्रहरी उपरीक्षक विनोद शर्मालाई फिर्ता बोलाएपछि रिक्त स्थानमा तिमिल्सिनालाई पठाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिएका छन् ।
उनी प्रहरी प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखामा कार्यरत थिए । वैशाख १० मा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार शर्मालाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको थियो ।
२०८० फागुन २ मा सिन्धुलीमा सरुवा भएका शर्मा दुई महिनामा नै सरुवा भएका हुन् । यसअघि पनि गृहमन्त्रीको आदेशमा प्रहरी महानिरीक्षक बसन्त कुँवरले बारा, सर्लाही, धनुषा, रौतहट र बाँकेका एसपीलाई अवधि नपुग्दै हटाएका थिए । श्रोतःरातोपाटी