सिन्धुली,राष्ट्रिय जनगणना २०७८ सिन्धुली जिल्ला स्तरीय नतिजा सार्वजनिक गरिएको छ । जिल्ला तथ्याङ्गक कार्यालय सिन्धुलीले सोमवार सार्वजनिक गरेको तथ्याङ्गकमा २०६८ सालको जनगणनामा सिन्धुलीको कुल जनसंख्या २ लाख ९६ हजार ११२ थियो भने २०७८ सालको जन गणनामा ३ लाख २६ जना संख्या वुद्धि भएको देखिन्छ । दश वर्षयता वार्षिक जनसंख्या वृद्धि ०.५७ रहेको छ ।
सिन्धुलीमा एक कार्यक्रमका बिच सार्वजनिक गरेको तथ्यांक अनुसार कुल जनसंख्या मध्ये पुरुषको संख्या १ लाख ४७ हजार ६५ अर्थात ४९ प्रतिशत र महिलाको संख्या १ लाख ५२ हजार ९६१ अर्थात ५१ प्रतिशत रहेको छ ।
जस अनुसार सिन्धुलीमा पुरुष भन्दा महिलाको संख्या ५ हजार ८९६ जनाले बढी रहेको छ । वि। स।२०६८ सालको जनगणना अनुसार सिन्धुलीको कुल जनसंख्या २ लाख ९२ हजार १९२ रहेको थियो । सार्वजनिक तथ्यांक अनुसार दश बर्षको अवधीमा सिन्धुलीमा ३ हजार ८३४ जना मात्रै जनसंख्या बढेको पाईएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार सिन्धुलीको कुल जनसंख्याको तथ्यांक सार्वजनिक गर्दै तथ्यांक कार्यालय सिन्धुलीका प्रमुख राजेश दासले २०६८ देखि २०७८ सम्म दश बर्षको सरदर बार्षिक जनसंख्या वृद्धिदर शुन्य दशमलव १२ प्रतिशत मात्रै देखिएको बताउनुभयो । वि।स। २०५८ साल देखि २०६८ सम्मको दश बर्षको सरदर बार्षिक जनसंख्या वृद्धिदर शुन्य दशमलब ५७ प्रतिशत रहेको थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार सिन्धुलीको नौ वटा स्थानिय तह मध्ये कमलामाई नगरपालिकाका सबैभन्दा बढी र घ्याङलेख गाउँपालिकाको सबैभन्दा कम जनसंख्या रहेको छ । कमलामाई नगरपालिकामा ७१ हजार १६, दुधौली नगरपालिकामा ७० हजार २०७, फिक्कल गाउँपालिकामा १५ हजार ९१०, तीनपाटन गाउँपालिकामा ३४ हजार ८८९ रहेको छ ।
यस्तै गोलन्जोर गाउँपालिकामा १८ हजार ७३७, सुनकोशी गाउँपालिकामा १८ हजार ३७५, मरिण गाउँपालिकामा २८ हजार ८०८ र हरिहरपुरगढी गाउँपालिकामा २६ हजार ५०५ जनसंख्या रहेको तथ्यांक कार्यालय सिन्धुलीका प्रमुख दासले बताउनुभयो । जनगणना अनुसार सिन्धुलीमा जम्मा १ लाख १७ हजार २७३ वटा घर संरचना रहेको छ । जसमध्ये मुख्यरुपमा आवासको लागि प्रयोग भएको घर ५५ दशमलब ०९ प्रतिशत, गोठ–धन्सार–मतान २३ दशमलब ३४ प्रतिशत, खाली घर ७ दशमलब ९७ प्रतिशत रहेका छन् ।