भ्रष्टाचार विरुद्धको कारबाही तीव्र बनाइने गृहमन्त्रीको प्रतिबद्धता
वर्दिवास,उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागि रहनुभएका उहाँले आज बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाचार विरुद्धको कारबाही तीव्र बनाइने प्रतिबद्धता जनाउनुभयो ।
जो होस्, गलत गर्ने कारबाहीको भागी बन्छ अब राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । यसअघि राजनीतिक दलका नेताहरूले जिम्मेवारी र दायित्व नबुझ्दा जनताले सुशासनको प्रत्याभूति पाउन नसकेका उहाँको भनाइ छ ।
गरिबीको दुश्चक्रमा पिसिएका आम जनता अझै निर्धक्क आफ्ना कुरा सम्बद्ध अधिकारीसम्म पुर्याउन सकेका छैनन्, ती वर्गका जनताले लोकतन्त्रको महसुस गर्न सक्नुपर्छ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, प्रहरी, प्रशासनिक अधिकारी र सम्बद्ध पक्षले कुनै लाउके वा बिचौलियाको होइन, सिधै पीडितको कुरा सुन्ने र निदान दिने परिपाटी बढाउन पर्छ । पछिल्लो समयमा मिटरब्याजविरुद्ध जनता उठ्न खोजे पनि जनप्रतिनिधिको अपेक्षित साथ नपाएका उहाँको गुनसो थियो ।
