नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु गरिने

पर्सा,वीरगञ्जस्थित नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको विशेष पहलमा नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो ।

अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने विषयमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँग छलफल गर्दै नारायणी अस्पतालमै यस्तो सेवा सुरु गर्ने सहमति भएको छ ।

वीरगञ्ज महानगरपालिका कार्यालयमा भएको छलफलमा नगर प्रमुख सिंहले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न सबै प्रकारको भौतिक संरचनासहितको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । वीरगञ्जसहित मधेस प्रदेशको मिर्गौला बिग्रिएको र डायलासिसमा रहेका बिरामीलाई प्रत्यारोपण गराउन हरसम्भव सहयोग गर्ने प्रमुख सिंहले बताउनुभयो ।

नारायणी अस्पतालमा सङ्क्रमण नहुने गरी शल्यक्रिया कक्ष बन्न सुरु भएपछि यहाँ आवश्यक जनशक्तिलाई सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा तालीम दिने र राष्ट्रिय प्रत्यारोपण केन्द्रको चिकित्सकसहितको समूहले मिर्गौलाको प्रत्यारोपण सुरु गर्ने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा श्रेष्ठले बताउनुभयो ।

नारायणी अस्पतालको निरीक्षण आफूले गरेको र सबै मिलेर लागे केही महिनाभित्रमा नै मिर्गौला प्रत्यारोपण हुन सक्ने निर्देशक डा श्रेष्ठको भनाइ छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरञ्जन साहले मिर्गौला प्रत्यारोपण केन्द्रको सहकार्यमा चाँडै मिर्गौला प्रत्यारोपण सेवा सुरु गराउन आफूहरूले तयारी गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

X